शैलुङमा नेताहरू बाहिरिँदा पनि एमाले अडिग, संगठन झन् कसिलो : पार्वत गुरुङ
घाम खबर संवाददाता
२४ माघ २०८२, शनिवार
602
Sharesदोलखा । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले ले दोलखा जिल्लामा चुनावी अभियानलाई तीव्र बनाएको छ। भीमेश्वर नगरपालिकाबाट सुरु भएको एमालेको अभियान शनिबार शैलुङ गाउँपालिकामा पुगेको हो। दोलखाबाट एमालेका उम्मेदवार पार्वत गुरुङ को नेतृत्वमा शैलुङ गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको थियो।
भेलालाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले शैलुङका केही नेताहरू पार्टीबाट बाहिरिएको विषयलाई अतिरञ्जित रूपमा लिन नहुने बताएका छन्। उनले केही व्यक्तिको बहिर्गमनले एमालेको संगठनात्मक संरचना कमजोर नबनेको स्पष्ट गर्दै पार्टी झन् अनुशासित, स्पष्ट विचारसहित र एकताबद्ध नेतृत्वमा अघि बढिरहेको दाबी गरे।
“एमाले अवसरको पछि लाग्ने पार्टी होइन,” गुरुङले भने, “सिद्धान्त, विचार र संघर्षको राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले केही नेताहरू बाहिरिँदैमा संगठन कमजोर हुँदैन, बरु पार्टी अझ स्पष्ट र मजबुत बन्छ।”
उनले एमाले सधैं राष्ट्र, जनता र राजनीतिक स्थायित्वको पक्षमा उभिँदै आएको उल्लेख गर्दै कार्यकर्तालाई आत्मविश्वासका साथ चुनावी अभियानमा जुट्न आग्रह गरे।
गुरुङले शैलुङमा पार्टी संगठन विस्तार, जनसम्पर्क अभियान र कार्यकर्ताबीचको एकतालाई अझ बलियो बनाइने बताए। विगतमा एमालेले शैलुङ क्षेत्रमा विकास, पूर्वाधार निर्माण र सुशासनका क्षेत्रमा खेलेको भूमिकालाई जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत गरिने उनको भनाइ थियो।
“एमालेको सबैभन्दा ठूलो शक्ति भनेकै संगठित कार्यकर्ता र जनताको भरोसा हो,” उनले भने, “हामी एकताबद्ध भएर अघि बढ्दा कुनै चुनौती ठूलो हुँदैन।”
पछिल्लो समय केही नेताहरू पार्टीबाट बाहिरिए पनि एमालेको संगठनात्मक गतिविधि प्रभावित नभएको नेताहरूको भनाइ छ। बरु पार्टीभित्र अनुशासन बलियो हुँदै गएको, विचार स्पष्ट भएको र नेतृत्व थप सक्रिय बनेको उनीहरूको दाबी छ।
एमाले शैलुङ गाउँ पार्टी कमिटीका अध्यक्ष भरत ढुंगेलको अध्यक्षतामा सम्पन्न भेलामा बागमती प्रदेशसभा सदस्य उर्मिला सुनुवार, एमाले जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरू धनबहादुर तामाङ, थिरबहादुर मोक्तान, इस्वर न्यौपाने, नेत्र मोक्तानलगायतको उपस्थिति रहेको थियो।
एमालेले शैलुङमा संगठन सुदृढीकरण, विकासको एजेन्डा र स्थायित्वको राजनीतिलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा मजबुत रूपमा प्रतिस्पर्धा गर्ने संकेत दिएको छ।

घाम खबर संवाददाता