१४ चैत २०८२, बुधवार

भर्खरै

चुनबाङ पुगेर भावुक प्रचण्डः ‘यहीँ बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो’

घाम खबर संवाददाता २ फागुन २०८२, शनिवार
चुनबाङ पुगेर भावुक प्रचण्डः ‘यहीँ बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो’

काठमाडौं/ प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ऐतिहासिक चुनबाङ बैठक स्थल, रुकुम पूर्वको भेरीडाँडा पुगेका छन्। मतदाता भेटघाटका क्रममा उनले २०६२ असोजमा बसेको तत्कालीन माओवादी केन्द्रीय समितिको बैठक स्मरण गर्दै त्यसले नै जनयुद्धलाई शान्ति र लोकतान्त्रिक गणतन्त्रतर्फ मोडेको जिकिर गरे।
चुनबाङ बैठकलाई माओवादी आन्दोलनको निर्णायक मोड मानिन्छ। सोही बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गर्दै संसदवादी दलहरूसँग सहकार्यको बाटो खोलेको थियो। ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा सीमित गर्ने निर्णय पनि त्यहीँबाट भएको थियो।
बैठक स्थल अवलोकनका क्रममा प्रचण्डले आफू र पत्नी सीता दाहाल बसेको कोठा, छोरा प्रकाश दाहाल तथा अन्य नेताहरू बसेका घर–कोठा हेरे। पत्नी र छोराको प्रसंग उठ्दा उनी केहीबेर भावुक बने। उनले नेपाली क्रान्तिमा परिवारको त्याग र योगदान स्मरण गर्दै संक्षिप्त प्रतिक्रिया दिए।
सम्बोधनका क्रममा उनले भने, “यहाँको बैठकबाटै १२ बुँदे समझदारी र शान्ति सम्झौताबारे निष्कर्षमा पुगेका थियौँ। यही हलमा बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो। अर्कोतिर सात दलसँग शान्ति वार्ता गर्ने निर्णय पनि यहीँबाट भयो।”
उनले रुकुमलाई क्रान्तिको थालनी मात्र नभई गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने ऐतिहासिक जिल्ला भएको दाबी गरे।
प्रचण्ड तीन दिनदेखि रुकुम पूर्वमा चुनावी अभियानमा छन्। आजै उनी चुनबाङको गैरीगाउँमा मतदाता भेटघाट कार्यक्रम गर्दै छन्।

158 Shares

लेखकको बारेमा

घाम खबर संवाददाता

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट