१४ चैत २०८२, बुधवार

भर्खरै

एमालेले जितेका जिरी–मेलुङ कार्यसम्पादनमा अब्बल,  पार्वत गुरुङलाई दोलखामा चुनावी ‘मेगा बुस्ट’!

घाम खबर संवाददाता २ फागुन २०८२, शनिवार
एमालेले जितेका जिरी–मेलुङ कार्यसम्पादनमा अब्बल,  पार्वत गुरुङलाई दोलखामा चुनावी ‘मेगा बुस्ट’!

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनले दोलखाको राजनीतिक समीकरण नै तरंगित बनाएको छ। जिल्लामा उत्कृष्ट प्रदर्शन गर्ने दुई पालिका—जिरी नगरपालिका र मेलुङ गाउँपालिका—दुवैमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार निर्वाचित छन्।
जिरी ७२ दशमलव ०९ अंकसहित जिल्लाकै पहिलो स्थानमा रहँदा मेलुङ ६६ दशमलव १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। कार्यसम्पादन, वित्तीय अनुशासन र सेवा प्रवाहका सूचकमा यी दुई पालिकाले अरूलाई स्पष्ट रूपमा पछाडि पारेका छन्।
तर चित्रको अर्को पाटो फरक देखिन्छ। पुछारमा परेका विगु र तामाकोशी गाउँपालिका क्रमशः ४१ दशमलव ०८ र ४७ दशमलव ५३ अंकमा सीमित भएका छन्। विगु गाउँपालिका तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को नेतृत्वमा छ भने तामाकोशी गाउँपालिका तत्कालीन नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा रहेको छ।
कार्यसम्पादनले दिएको राजनीतिक सन्देश
आयोगले वित्तीय अनुशासन, बजेट कार्यान्वयन, आन्तरिक राजस्व परिचालन, बेरुजु फछ्र्यौट र सेवा प्रवाहलगायत १७ सूचकका आधारमा अंक प्रदान गरेको हो। उत्कृष्ट नतिजा ल्याएका पालिकामा योजनाको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र सुशासन बलियो देखिएको विश्लेषण गरिएको छ।
तर पुछारमा रहेका पालिकामा प्रशासनिक सुस्तता, राजस्व संकलन कमजोर र कार्यान्वयनमा ढिलाइ जस्ता कारण औंल्याइएको छ। यसले नेतृत्वको कार्यशैली र प्राथमिकतामाथि प्रश्न उठाएको छ।
चुनावी बहसको केन्द्रमा
यो नतिजाले दोलखामा राजनीतिक बहस चर्काएको छ। एमाले नेतृत्वका पालिका शीर्ष स्थानमा रहँदा समाजवादी र माओवादी नेतृत्वका पालिका पुछारमा देखिनु आगामी निर्वाचनका लागि महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ।
विश्लेषकहरूका अनुसार, कार्यसम्पादनको यस्तो तथ्याङ्कले मतदाताको धारणा निर्माणमा सीधा प्रभाव पार्न सक्छ। उत्कृष्ट नतिजाले एमालेको पक्षमा माहोल बनाउने कि पुछारको नतिजाले प्रतिपक्षलाई रक्षात्मक बनाउने भन्ने प्रश्न अहिले दोलखामा चर्चाको विषय बनेको छ।
फागुन २१ को निर्वाचनमा प्रभाव
आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै जिरी र मेलुङको उपलब्धिलाई एमालेले चुनावी एजेन्डाको केन्द्रमा राख्ने संकेत देखिएको छ। जिल्लामा विकास, सुशासन र नतिजामुखी कामको उदाहरणका रूपमा यी पालिकालाई प्रस्तुत गर्ने रणनीति बनाइएको बताइन्छ।
विशेषगरी एमाले नेता पार्वत गुरुङका लागि यो नतिजा थप ऊर्जा र आत्मविश्वासको आधार बन्ने देखिएको छ। राजनीतिक वृत्तमा चर्चा छ—जिरी र मेलुङको उपलब्धिलाई “काम गरेको प्रमाण”का रूपमा मतदातामाझ राख्दै चुनावी माहोल आफ्नो पक्षमा पार्ने प्रयास हुनेछ।
जिल्लाको समग्र नतिजा
जिल्लाको समग्र नतिजालाई नियाल्दा मेलुङ गाउँपालिका ६६ दशमलव १० अंकका साथ दोस्रो स्थानमा रहन सफल भएको छ भने शैलुङ गाउँपालिका ५९ दशमलव ५० अंकसहित तेस्रो स्थानमा देखिएको छ।
जिल्लाको मुख्य व्यापारिक केन्द्र तथा सदरमुकाम रहेको भीमेश्वर नगरपालिकाले ५८ दशमलव ९४ अंक प्राप्त गर्दा गौरीशंकर गाउँपालिकाले ५५ दशमलव ३० अंक पाएको छ।
त्यसैगरी वैतेश्वर गाउँपालिका र कालिन्चोक गाउँपालिकाले समान ५३ दशमलव ३० अंक प्राप्त गरेका छन् भने तामाकोशी गाउँपालिकाले ५० अंकको सीमा पार गर्न नसकी ४७ दशमलव ५३ अंकमा चित्त बुझाउनु परेको छ।
कार्यसम्पादनको यस प्रतिस्पर्धामा विगु गाउँपालिका ४१ दशमलव ०८ अंकसहित जिल्लाकै सबैभन्दा कमजोर पालिका बनेको छ।
समग्रमा, दोलखाको कार्यसम्पादन मूल्यांकनले विकास र सुशासनको प्रश्नसँगै चुनावी समीकरणलाई पनि नयाँ मोड दिएको छ। अब मतदाताले ‘नतिजा’लाई कत्तिको प्राथमिकता दिन्छन् भन्ने विषयले आगामी निर्वाचनको दिशा तय गर्ने देखिएको छ।

315 Shares

लेखकको बारेमा

घाम खबर संवाददाता

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट