गुरुङ फ्याक्टर हावी भएपछि दोलखामा कांग्रेसका नेताहरू समूहै एमाले प्रवेश
घाम खबर संवाददाता
२८ माघ २०८२, बुधवार
469
Sharesदोलखा — पूर्वमन्त्री गुरुङको बढ्दो लोकप्रियताले दोलखाको राजनीतिक समीकरणमा ठूलो तरंग ल्याएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका संगठित तथा प्रभावशाली नेताहरू धमाधम नेकपा (एमाले) मा प्रवेश गर्न थालेका छन्।
यसैक्रममा नेपाली कांग्रेसको भातृ संगठन तरुण दल दोलखा क्षेत्र नम्बर ‘क’ का क्षेत्रीय सभापति कामसर्की शेर्पा, जननिर्वाचित वडा सदस्य तथा नेपाली कांग्रेस गौरीशंकर गाउँपालिका–७ (मार्बु) का वडा सभापति राजेश श्रेष्ठ, साथै नेपाली कांग्रेस गौरीशंकर–काठमाडौं सम्पर्क समिति का उपसभापति विक्रम श्रेष्ठ औपचारिक रूपमा एमालेमा प्रवेश गरेका छन्।
कांग्रेसभित्र संगठित रूपमा सक्रिय मानिएका यी नेताहरूको एकैपटक पार्टी परित्यागले दोलखामा कांग्रेस कमजोर बन्दै गएको संकेत देखिएको छ भने एमालेको जनाधार थप सुदृढ हुँदै गएको विश्लेषण गरिएको छ।
एमाले प्रवेश गरेका नेता तथा कार्यकर्ताले पूर्वमन्त्री गुरुङका पिता तथा पञ्चायतकालीन नेता मकरध्वज गुरुङबाट आशीर्वाद लिएको तस्वीरसमेत सार्वजनिक भएको छ। यसले दोलखामा गुरुङ परिवारप्रतिको राजनीतिक आकर्षण अझै बलियो रहेको सन्देश दिएको छ।
स्थानीय राजनीतिक वृत्तमा यो घटनालाई “कांग्रेसको संगठनमा ठूलो भूकम्प” का रूपमा हेरिएको छ भने आगामी निर्वाचनमा यसको प्रत्यक्ष प्रभाव पर्ने आँकलन गरिएको छ।

घाम खबर संवाददाता