१४ चैत २०८२, बुधवार

भर्खरै

चुनावकै मुखमा शैलुङमा माओवादी नेतामाथि बलात्कार प्रयासको आरोप

घाम खबर संवाददाता ३ फागुन २०८२, आइतवार
चुनावकै मुखमा शैलुङमा माओवादी नेतामाथि बलात्कार प्रयासको आरोप

दोलखा । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी चलिरहेका बेला दोलखाको शैलुङ गाउँपालिकामा एक स्थानीय राजनीतिक व्यक्तिमाथि जबरजस्ती करणी प्रयास
(जजक उद्योग) को आरोप लागेको छ।
शैलुङ गाउँपालिका–८ ढाडेका भैरवबहादुर काफ्ले विरुद्ध सोही वडाका कृष्णबहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय दोलखामा जाहेरी दर्ता गराएका हुन्। 
जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ। जाहेरी अनुसार २०८२ माघ २० गते बेलुकी करिब ७ः१५ बजे घटना भएको बताइएको छ। उजुरीमा उल्लेख भएअनुसार अभियुक्त भनिएका काफ्ले पीडित महिलाको घरमा प्रवेश गरी जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए। 
पीडितले प्रतिकार गर्दै गुहार मागेपछि छिमेकीहरू घटनास्थलतर्फ आउँदै गरेको देखेपछि अभियुक्त भागेको दाबी गरिएको छ।
घटनाका साक्षीका रूपमा स्थानीय बलराम खत्री र सोभित खत्रीको नाम उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले जाहेरी दर्ता भइसकेको पुष्टि गर्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। प्रहरीले हालसम्म कसैलाई दोषी ठहर नगरिएको र अनुसन्धान निष्कर्षपछि मात्र थप विवरण सार्वजनिक गरिने जनाएको छ।
काफ्ले शारदा मावि भैंसेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा तत्कालीन नेकपा (माओवादी केन्द्र) का पूर्व स्थानीय सचिव रहेको बताइएको छ।
यस घटनालाई लिएर स्थानीय स्तरमा राजनीतिक प्रभावका विषयमा समेत चर्चा भइरहेको छ। केही स्थानीयवासीले विगतका उजुरीहरूमा प्रभावकारी अनुसन्धान नभएको आरोप लगाएका छन्। यद्यपि सम्बन्धित राजनीतिक व्यक्तिहरूबाट यस विषयमा औपचारिक प्रतिक्रिया आउन बाँकी छ।
चुनाव नजिकिँदै गर्दा सार्वजनिक भएको यस घटनाले स्थानीय राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

165 Shares

लेखकको बारेमा

घाम खबर संवाददाता

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट